काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । बालुवाटारमा जारी छलफलमा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालको पनि सहभागिता रहेको छ ।
साउन १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा ओलीले स्थगित गरेपछि नेकपाभित्र संवादहीनताको अवस्था आएको थियो । ओलीले बैठक स्थगित गरेपनि बहुमत असन्तुष्ट सदस्यहरुको बैठक बालुवाटारमै बसेको थियो । बैठक लगातार स्थगन गर्न नहुने धारणा राखेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । त्यसयता नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन ।
गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि विवाद चर्किएको हो । सहमति खोज्नैका लागि स्थायी कमिटी बैठक पनि पटक–पटक सारिँदै आएको छ ।