काठमाडौँ । नेपाल बार एसोसिएसनले सोमबार(आज) सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो ।
प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।
दिउँसो २ बजे बारको टोलीले संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो । भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।
जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।
तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खाजेको हो ।
नेपाल बार एशोसिएसनका प्रतिनिधिसँगको छलफलमा सभामुख सापकोटाले कानुन व्यवसायीले गरिरहेको आन्दोलनमा आफ्नो ध्यानाकर्षण भएको र यो विषयमा आफूले खेल्नुपर्ने भूमिका खेल्ने बताउनुभएको हो ।
उहाले आफू निष्पक्ष भूमिका निर्वाह गर्ने भन्दै आफ्नो निष्पक्षता र तटस्थता मुलुकका लागि प्रयोग गर्ने बताउनुभएको छ ।