काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताउनुभएको छ । मंगलबार (आज) महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताउनुभयो।
रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको उहाँले बताउनु भयो । रावलको सुझावबाट आफू प्रभावित भएको भन्दै ओलीले भन्नुभयो, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’ लोकतन्त्रमा चुनौति दिन पाइन्छ ।
आज सम्पादकहरुसँगको अन्तरक्रियामा उहाले आफू अध्यक्षको उम्मेदवार भए कसैलाई पनि छाडिदिनुस् भनेर सामान्य आग्रह समेत नगर्ने बताउनुभयो ।
त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो रु भनेर पत्रकारले सोधेको प्रश्नमा ओलीले भन्नुभयो, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’