काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ ।
केहिदिन अघि प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताउनुभएको थियो ।
मंगलबार (आज) सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताउनुभयो ।
'हामीले हाम्रो पार्टीको महाधिवेशन गरिरहेका छौं। म प्रचण्डलाई आह्वान गर्न चाहन्छु, झापा आएर गर्नुस् न महाधिवेशनु, उनले भन्नुभयो, 'कसैले कुनै जिल्लाबाट चुनाव लडेको छ भने जिल्लै उसको हुने र अरुले पाइला टेक्न नहुने भन्ने हुँदैन। म त्यो बाटो हिँडेर गएँ भने उहाँले भन्न बेर छैन, मलाई सिध्याउन यही बाटो हिँड्नुपर्छ?'
प्रचण्डले आफूहरुलाई नै नभनेको पनि हुनसक्ने भन्दै ओलीको व्यंग्य गर्नुभयो । 'उहाँले एमालेले नै भन्नुभएको छ कि छैन मलाई थाहा छैन। तर, हामीलाई होइन कि जस्तो पनि मलाई लाग्यो। किनकि सीपी मैनाली नेतृत्वको पार्टीले पनि चितवनमै महाधिवशेन गर्यो। त्यसकै भोलिपल्ट उहाँले केही मान्छेहरु मलाई सिध्याउन यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेर रिसाउनुभयो', ओलीको भनाइ थियो ।
प्रचण्डसँग आफूहरुको कुनै लिनुदिनु नभएको उहाले प्रष्ट पार्दै ओलीले आफ्नो पार्टी चलाउने र उहाको निर्वाचत क्षेत्रमा गएर महाधिवेशन गरेको भन्ने लागेको भए आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न सुझाव दिनुभयो।