काठमाडौं – नेकपा माओवादी केन्द्रमा वरिष्ठ नेताको व्यवस्था गर्न माग गरीएको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले भविष्यमा हुनसक्ने पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको पनि व्यवस्था गर्न माग गरेका हुन् ।
नेताहरुका अनुसार निकट भविष्यमा माधव नेपाल लगायतसँग पार्टी एकता हुनसक्ने भएकाले अहिले नै विधानमा स्पष्ट गरेर जानुपर्ने आशय शर्माले राखेका हुन् ।
माओवादीको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव र कोषाध्यक्षको मात्रै व्यवस्था गरिएको सन्दर्भमा बन्दसत्रमा वरिष्ठ नेता समेतको व्यवस्था गर्न माग भएको हो । यस्तै नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था हुनुपर्ने पनि शर्माले सुझाव दिएका छन् ।
सबैलाई समेटेर महाधिवेशनबाट मात्रै पदाधिकारीको टुंगो लगाइनुपर्नेमा उनले जोड दिए । संविधानको व्यवस्थाअनुसार कमिटी समानुपातिक समावेशी हुनुपर्ने भन्दै उनले पार्टीलाई गतिशील बनाउन प्रभावकारी योजना हुनुपर्ने धारणा राखेका छन् ।