काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालले सरकार निर्वाचनबाट भागेको आरोप लगाइरहेका बेला निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
बरु प्रमुख विपक्षी एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभयो ।
अहिले नेपालमा कोरोना संक्रमण आक्रामक गतिमा फैलिरहेको छ । कोरोना बढ्दै जाँदा निर्वाचन तालिका समेत प्रभावित हुने सम्भावना छ । तर आयोगका प्रवक्ता शर्माले माघ १२मा तोकिएको राष्ट्रियसभाको उपनिर्वाचन निर्धारित मितिमै हुने बताउनुभयो ।
कोरोना बढ्दै गए स्थानीय तहको निर्वाचन पछाडि धकेलिन सक्ने उहाँले संकेत गर्नुभयो । यद्यपि सरकारले नभन्दासम्म आयोगले निर्वाचनको तयारी नरोक्ने उहाँले बताउनुभयो ।
यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न हिजो महान्यायाधिवक्ता खम्म खाती निर्वाचन आयोग जानुभएको थियो । निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ ।
यद्यपि आयोगले स्थानीय तहको चुनाव वैशाखभित्र गर्नुपर्नेमा जोड दिएको बताइएको छ । सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ ।