Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोनाको तेस्रो लहर

पत्रकारहरु पनि धमाधम सङ्क्रमित, सञ्चारमाध्यम सञ्चालनमै समस्या

पत्रकारहरु पनि धमाधम सङ्क्रमित, सञ्चारमाध्यम सञ्चालनमै समस्या

  • मंगलवार, माघ ४ २०७८

  • 1.1K
    SHARES

  • पत्रकारहरु पनि धमाधम सङ्क्रमित, सञ्चारमाध्यम सञ्चालनमै समस्या

    काठमाडौँ । कोरोनाभाइरसको महामारी दिनप्रति दिन बढ्दै गइरहेका बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरु पनि धमाधम सङ्क्रमित भएको पाइएको छ । समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणमा खटिने पत्रकार र उनीहरुलाई विभिन्न तरिकाले सघाउने पत्रकार सम्वन्धी संघ–सङ्गठनका पत्रकार नेताहरु पनि सङ्क्रमित भएका छन् ।

    पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ । यही पुस ३० गते कपिलबस्तुको तिलौराकोटमा भएको महासंघको केन्द्रीय कार्यसमितिको बैठकपछि कोरोनाको लक्षण देखिएर परिक्षण गराउँदा उहाँहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

    अध्यक्ष पोखरेललाई सङ्क्रमण पुष्टि भएपछि महासंघकै बैठकमा सहभागी अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पनि कोरोना परीक्षण गराएका थिए । तर अरुले भने आफूहरुलाई सङ्क्रमण नदेखिएको बताएका छन् ।

    आफूलाई सङ्क्रमण भएपछि अध्यक्ष पोखरेलले कामभन्दा स्वास्थ्य ठूलो कुरा भएकाले स्वास्थ्य जोखिमलाई ख्याल गरेर मात्रै काम गर्न आग्रह गर्नु भएको छ । “स्वास्थ्य सतर्कता अपनाएर मात्रै आफ्नो दायित्व निर्वाह गरौं । स्वस्थ संचारकर्मी, सही समाचार, नागरिकको सुसूचित हुने आधार” उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

    यसैबीच नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई पनि सङ्क्रमण भएको छ । यस्तै राष्ट्रिय समाचार समिति (रासस)का प्रधान सम्पादक एकराज पाठकलाई पनि सङ्क्रमण भएको छ । ‘म पनि पोजेटिभ । दुईवटा लहरलाई छलेको भनेर यसपाली समात्या होला । अहिले त ५० प्रतिशत नै सङ्क्रमित भएपछि छल्नु कसरी ? श्री पशुपतिनाथले सबैको कल्याण गरुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ ।

    त्यसैगरी नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल पनि सङ्क्रमित भएर घरमै आराम गरिरहनु भएको छ । उहाँले अघिल्लो दुई पटकको महामारीमा आफू जिल्ला–जिल्ला पुग्दा पनि कोरोनाबाट जोगिन सकेको तर अहिले भने सङ्क्रमित हुन पुगेको उल्लेख गर्नुभएको छ ।

    उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “मेरो स्वास्थ्य अवस्था सामान्य छ । कोरोना सुरुवातदेखि अहिलेसम्म नेपालको प्रायः सबै शहर, विकट हिमाली जिल्ला हुम्ला सिमकोटदेखि छिमेकी मुलुकको नयाँ दिल्ली सम्मको यात्रा गर्दा नलागेको कोरोनाले सुरक्षित तवरले काठमाडौँमा हिँड्दा समात्यो । सबै जना सुरक्षित रहनुहोला । यसको केही भर हुँदोरहेनछ ।”

    युनियनकै सल्लाहकार शिव लम्सालले पनि मङ्गलबार आफू सङ्क्रमित भएको जानकारी दिनु भएको छ ।

    महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले तेस्रो चरणमा कोरोनाले आफूलाई सङ्क्रमित बनाएको उल्लेख गर्नु भएको छ । “तेस्रो चरणको महामारीले छोडेन । सङ्गत हुनुभएकाहरु सचेत रहनु होस्” उहाँले लेख्नु भएको छ । वरिष्ठ पत्रकार दाहालले आफ्नो अवस्था भने सहज नै भएको जानकारी दिनु भएको छ ।

    महासंघका पूर्व सचिव तथा पत्रकारिताका प्राध्यापक जगत नेपाल श्रीमतीसहित सङ्क्रमित हुनुभएको छ । ग्यालेक्सी टेलिभिजनमा कार्यरत पत्रकार निमेष बञ्जाडेले अहिलेको महामारीबाट जोगिन सजिलो नरहेको अनुभव व्यक्त गर्नुभएको छ ।

    नागरिक दैनिकमा कार्यरत दिलिप पौडेलले भने कोरोनाभाइरस विरुद्धको बुस्टर डोज खोप लगाएकै दिन आफू सङ्क्रमित भएको उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको छ, “अहिलेसम्म जोगिए पनि कोभिड विरुद्धको तेस्रो खोप (बुष्टर डोज) लगाएपछि अन्ततः कोभिडको फन्दामा परियो । बुस्टर डोजले शरिरमा चर्को दुखाई भयो । त्यसपछि पिसिआर जाँच गरेको रिपोर्ट पोजेटिभ । शरीर दुखाई बाहेक स्वास्थ्य सामान्य छ ।”

    सङ्क्रमित भएका सवैले जानकारी नगराउने भएकाले अहिले कति पत्रकार सङ्क्रमित अवस्थामा छन् भन्ने एकिन तथ्याङ्क कसैसँग पनि छैन । तर अघिल्लो महामारीहरुमा भन्दा यस पटक बढी सङ्क्रमित भएको धेरैको भनाइ छ । पत्रकारहरु धमाधम सङ्क्रमित भएपछि सञ्चार माध्यम सञ्चालनमा पनि समस्या भएको सञ्चालकहरुले बताएका छन् ।

    सङ्क्रमितहरु बढे पनि गम्भीर स्वास्थ्य समस्या भएको बताउनेहरु निकै कम देखिएका छन् । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि अग्रपक्तिमा खटिनेहरुलाई सरकारले काठमाडौँका १७ स्थानमा खोपको बुस्टर डोजको व्यवस्था गरेको छ ।

    नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज), सशस्त्र प्रहरी अस्पताल (बलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल (महावौद्य), परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (थापाथली), शहीद शुक्रबार अस्पताल (टेकु), निजामती कर्मचारी अस्पताल (नयाँ बानेश्वर), सुभेक्षा अस्पताल (सितापाइला), जनमैत्री अस्पताल (बालाजु), पिपल्स डेन्टल कलेज (सामाखुशी), नर्भिक अस्पताल (थापाथली), नोभेल अस्पताल (सिनामंगल), बयोधा अस्पताल (बल्खु), शहीद मेमोरियल अस्पताल कलंकी (नयाँ बसपार्क) र एपेक्स पोलिक्लिनिक (जडिबुटी)मा बुस्टर डोजको व्यवस्था गरिएको हो ।

    तोकिएका ठाउँमा गएर काठमाडौँका धेरै पत्रकारहरुले बुस्टर डोज खोप लगाएका छन् । तर काठमाडौँ बाहिर भने यस्तो व्यवस्था नभएको भन्दै महासंघका पूर्व सचिव रामप्रसाद दाहालले चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “खुसीको कुरा हो संघीय राजधानीमा रहेका पत्रकारहरूले बुष्टर डोज लगाएको तस्विर पोष्ट गरिरहनु भएको छ । तर राजधानी बाहिर अर्थात मोफसलका पत्रकारले कोरोना विरूद्वको बुष्टर डोज कहिले पाउने ? चिन्ता कस्ले गरिदिने, कस्ले बोलिदिने ?

    सरकारले भने काठमाडाँै बाहिर पनि बुस्टर डोजको व्यवस्था गर्न पत्रचार गरिसकेको छ । स्थानीय निकायलाई नै व्यवस्थापनको जिम्मेवारी दिएकाले सबैका लागि उनीहरुले नै व्यवस्था गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
    पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा एकैदिनमा सङ्क्रमित भएकाहरु मध्येको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।


    मंगलवार, माघ ४ २०७८०६:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij