काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।
आइतबार सहिद दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।
सहिदस्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै उनले यस विषयमा ठोस कार्य अघि
उनले सहिदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरूका बारेमा युवापुस्तालाई जागरुक बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले सहिदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै सहिदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने उल्लेख गरे ।
अबको देशको गन्तव्य आर्थिक रूपान्तरण र सुशासन भएको भन्दै उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अतिकम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रूपान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरूको योगदानलाई सम्मान गरेर देश र जनताका लागि अठोटका साथ अघि बढ्नुपर्ने बताए ।