काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
दुबईमा शुक्रबार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो ।
युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो ।
यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०–४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।
यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए ।
यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १र१ विकेट लिए ।
यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।
युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।
अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।