काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताउनुभएको छ ।
पाल्पाको रानीमहलमा चैतमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँग छलफल गर्दै सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताउनुभएको हो ।
सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहल परिसरमा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुदैछ ।
प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्ने सन्दर्भमा सचिव रेग्मीले आयोजक समितिसँग छलफल गरेका हुन् । ‘बिच भलिबलको इतिहास लामो छ । यो नेपालको सम्भावना भएको खेल पनि हो ।’ रेग्मीले भन्नुभयो, ‘समुद्री तटको किनारामा रहेको बालुवामा खेल्ने खेल भएपनि प्राकृतिक रुपमा नेपालका धेरै जसो नदी नालाको किनारामा यसलाई खेल्न सकिन्छ ।
त्यसैले नेपालमा यस खेलको सम्भावना धेरै देख्छु ।’ उहाँले पाल्पाको रानीमहलमा हुने बिच भलिबल प्रतियोगिताले राष्ट्रिय खेल भलिवललाई थप लोकप्रिय बनाउने अभियानमा मद्वत गर्ने विश्वास व्यक्त गर्नुभयो ।