काठमाडौं । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ। यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ।
सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक हो। सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको छ। चार महिना नबित्दै युट्युबमा सालको पातले दुई करोड भ्यूज नाघेको थियो। यो गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर छ। युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन्। स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो।
अहिले पनि गीतको भ्यूज निरन्तर बढिरहेको छ। यो गीत पछिल्लो एक महिनामा मात्रै झण्डै दश लाख पटक हेरिएको छ। ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, सङ्गीतकार थापाले भने। झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ। कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ। निर्देशन शिव विकले गरेका छन्।
हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ। ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो,’ उनले भने।
गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको बताए। उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ। अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एक लाख सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ।
अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै छ लाख पुगेको छ। गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन्। गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ। सोही आधारमा कलाकारले पैसा पाउँछन्। पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ। अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ।
शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन्। श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको छ।
सालको पातले पनि सम्बन्धित लगानीकर्ता÷कलाकारलाई आकर्षक कमाइ दिलाएको छ। गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ। ‘शब्द रचना प्रह्दाद सुवेदीले गर्नुभएको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन,’ थापाले भने।