एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको छ । गएराति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् । श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए ।
तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।
यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध ¥याली निकालेका थिए ।
यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरिएका छन् । आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो ।