काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका तथा हालै शल्यक्रिया गरिएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्व राष्ट्रपति मुखर्जीको दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार भइरहेको छ । मुखर्जीको अवस्था गम्भीर तर स्थिर रहेको र अहिले पनि उनी भेन्टिलेटरमै रहेको अस्पताललाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि शल्यक्रिया भएको थियो ।
८४ वर्षका मुखर्जीको शल्यक्रियापूर्व गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोमबार उनको शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।