काठमाडौं । काठमाडौं वडा नं. १० का वडाध्यक्ष रामकुमार केसीले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक रहेको बताउनुभएको छ । आफ्नो पहिलो कार्यकालमा थुप्रै जनमुखी काम भएकाले फेरि पनि आफू नै वडा अध्यक्षमा निर्वाचित हुनेमा उहाँ विश्वस्त देखिनुहुन्छ ।
उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा उत्कृष्ट कामहरु गरेर जनताको मन जित्न सफल भएको बताउनुभयो । आफूहरुले उत्कृष्ट काम गरेबापत नै आफूहरुलाई सिंगापुर, बैंकक दश दिनको प्याकेजमा पनि सहभागी गराइएको उहाँले बताउनुभयो ।
पाँच वर्षे कार्यकालमा सानो–सानो गल्लीमा ढल, बत्ती, ब्लक छाप्ने, खानेपानी, ढलान जस्ता महत्वपूर्ण काम गरेको उहाँको दाबी छ । उहाँले १८० वटा गल्लीमा यी कार्य सम्पन्न गरेको र लगभग ९९ प्रतिशत ब्लक छाप्ने र ढलको काम सम्पन्न गरेको बताउनुभयो । यस्तै लगभग १८०० बत्ती जडान गर्नुका साथै बाटो विस्तार पनि गरेको र केही फिनिसिङ टच दिन बाँकी रहेको उहाँको भनाइ छ ।
आफुहरुले निरन्तर जनताका लागि विकासमुखी काम गर्दै गर्दा पनि महानगरबाट अपेक्षा गरे जस्तो साथ, सहयोग र समर्थन पाउन नसकेको वडा अध्यक्ष केसीले बताउनुभयो । सायद आफूहरु अपोजिशन पार्टी भएकै कारणले गर्दा अरु वडाभन्दा धेरै विकास गरेता पनि महानगरमा लगेका धेरै योजना स्वीकृत नगरिएको र केही स्वीकृत गरिए पनि अन्तिम समयमा आएर ती कार्यसम्पादन हुन नपाएको उहाँको गुनासो छ ।
वडा अध्यक्ष केसीले कोरोना कहरका बखत पनि आफूहरुले उत्कृष्ट काम गरेको बताउनुभयो । घर घरमा गएर सेनिटाइजर, मास्क वितरण गर्नुका साथै मारवाडी सेवा समितिसँग मिलेर काठमाडौंमा सबैभन्दा पहिला राहत वितरण गरेको उहाँले बताउनुभयो । यस्तै आफ्नो तलबको केही रकम पनि सहयोग गरेको उहाँको दावी छ ।
आफूले आफ्नो पाँच वर्षे कार्यकालमा लगभग आफ्नो घोषणापत्रको ८० प्रतिशत काम पुरा गरेको र बाँकी रहेका र थप जनमुखी काम पुरा गर्न जनताले आउँदो चुनावमा फेरि पनि वड अध्यक्षमा निर्वाचित गराए पुरा गर्ने केसीले प्रतिवद्धता जनाउनु भएको छ ।