काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी अभियानमा जोड दिएका प्रदेश नम्बर-१ का चार पालिकामा मात्र एमाले विजयी भएको छ ।
ओलीको गृहनगर दमकसमेत एमालेले गुमाएको छ । प्रदेश-१ का प्रमुख सहरहरूमा ओलीको चुनाव केन्द्रित अभियान गएको वैशाख २० गतेदेखि सुरु भएको थियो । उनले तीन चरणमा चुनावी अभियान सञ्चालन गरी आफैले सम्बोधन गरेका थिए । तर, ओली सहभागी भएर भव्य रूपमा चुनावी कार्यक्रम गरिएका पालिकाहरूमध्ये अधिकांशमा एमाले पराजित भएको छ ।
वैशाख २० गते ओली झापाको भद्रपुरको ज्ञानुचोकमा आयोजित सभामा सहभागी भई हल्दीबारी गाउँपालिकाको गोलधाप पुगेका थिए । त्यसपछि मेचीनगरको धुलाबारी र बिर्तामोडमा सभा गरी सबैतिर एमालेको जित सुनिश्चित भएको दाबी गरे । तर, उनले दाबी गरेजस्तो चुनावी परिणाम आएन । भद्रपुरमा कांग्रेस र हल्दीबारीमा राप्रपा विजयी भएको छ । मेचीनगर र बिर्तामोडमा एमालेले जित निकालेको छ ।
त्यसपछि ओली वैशाख २३ गते मोरङको मिक्लाजुङको मधुमल्ला, झापाका गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिकाको क्याम्पा र गृहनगर दमकमा आयोजित चुनावी सभामा सहभागी भए । तर, मिक्लाजुङ, गौरीगञ्ज र कमलमा कांग्रेस विजयी भयो । दमकमा राप्रपा विजयी हुँदा एमालेले गौरादहमा मात्र जित हासिल गर्यो ।
ओलीले प्रदेश-१ को विराटनगर महानगरपालिकासहित उपमहानगरहरू सुनसरीको धरान र इटहरीमा जेठ २५ गते कार्यक्रम गरे । ती सबै पालिकामा एमाले हार्यो ।
यस्तै मोरङको सुन्दरहरैँचामा एमाले विजयी भयो । ओलीले वैशाखमै मोरङको रंगेली आई नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित दिलीप बगडियालाई एमालेमा प्रवेश गराएका थिए । त्यहाँ भने बगडिया एमालेको टिकट पाई विजयी भएका छन् ।