काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशले गणतन्त्र आएपछि विकास र समावेशिता पाएको बताउनुभएको छ ।
उहाँले गणतन्त्रले देशलाई समृद्धितर्फ उन्मुख गराएर जनतालाई विकास र समावेशिताको अनुभूति दिएको बताउनुभएको हो ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो,“सोचेअनुरूप देशमा विकास त भएको छैन म मान्छु तर विकास उन्मुख पक्कै भएको छ । राजनीतिक संस्कारको कमीले गर्दा पनि समस्या छ, त्यसैले देशकै प्रधानमन्त्रीदेखि नै संस्कार बदलिनुपर्छ ।”
लोकतन्त्रको विकल्प पनि लोकतन्त्र नै रहेको उहाँको भनाइ छ । नेता पौडेलले विकासको क्रम निरन्तर गतिमा भइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
त्यसो भए अहिले देशको व्यवस्था परिवर्तन गर्नुपर्छ भन्नेहरुलाई तपाईं के भन्नुहुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पौडेलले भन्नुभयो,“व्यवस्था परिवर्तनको कुरै नगरौँ, बरु व्यवस्था सुधारको कुरा गरौँ, राजनीतिक स्थिरता चाहियो, बनाउँदै भत्काउँदै होइन स्थायित्व चाहिएको छ ।”
उहाँले देशलाई अहिले तीन मुख्य कुरा आवश्यक रहेको धारणा राख्नुभएको छ । राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायले मात्रै देशमा सोचेअनुरूप विकास हुने दाबी नेता पौडेलले गर्नुभएको छ ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :