काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।
आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताउनुभयो ।
उहाँले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्योट बढेको बताउनुभयो ।
उहाँले आफू नेतृत्वमा आउँदा मुद्दाको फर्स्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताउनुभयो । उल्लेख्य मात्रामा पुराना मुद्दाहरूको फैसला भएको उहाँले उल्लेख गर्नुभयो ।
कामु प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताउनुभयो । उहाँले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताउनुभएको छ ।