काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोरोना महामारीको कारण अहिले उद्योगहरुले कसरी नाफा कमाउने भन्दा पनि उद्योग र श्रमिक कसरी बचाउने भन्ने कुरा ठूलो चुनौतीको विषय भएको बताउनुभएको छ । कोरोना महामारीको संकटबाट पार पाउन संवेदनशील भएर अगाडि बढनु पर्ने समय आएको उहाँले बताउनु भएको छ ।
उद्योगी व्यवसायीहरुको माग अनुसार राष्ट्रबैकले मौद्रिक नीति मार्फत आएका सहुलियत प्याकेजले केही राहत पुर्याउने भएपनि पछिल्लो पटक कोरोना संक्रमण बढ्दै जाँदा उद्योग व्यवसाय सञ्चालनमा नै समस्या देखिएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टिपी भुसालसंग कुरा गर्दै अध्यक्ष राणाले लकडाउन,सटडाउन फेरि लकडाउन तथा क्वारिन्टाइन लगायतका समस्याको कारण चाहेर पनि उद्योग व्यवसाय सहज ढंगले चल्न नसकेको बताउनुभयो । उहाँले अहिले अत्यावश्यक वस्तु तथा उत्पादन गर्ने देखि सामान्य उदोग गरी करिब चालिस प्रतिशतको हाराहारीमा मात्र उद्योग सञ्चालनमा रहेको बताउनुभयो ।
कोरोनाको कारण महासंघको अधिवेशन समयमै गर्न नसक्दा नेतृत्व हस्तान्तरण प्रक्रिया ढिला भएपनि समय सहज हुनासाथ आफु छिट्टैले महासंघको नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ ।
उहाँले महासंघमा नेतृत्व लिने विषयमा देखिएको चासो स्वाभाविक भएको र प्रजातान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्ने बताउनुभयो । यद्यपी वरिष्ठ उपाध्यक्ष लगायत नयाँ आउने नेतृत्वका विषयमा सहमती कायम गर्ने प्रयास भने जारी रहेको बताउनुभयो ।
अध्यक्ष राणासंग गरिएको कुराकानीको विस्तृत विणरण यहाँ क्लिक गरेर सुन्न सक्नु हुनेछ ।