काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १०१ औँ स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०२ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५९ औँ स्थानमा रहेको छ ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै स्विडेन दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो स्थानमा झरेको छ । जर्मनी चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ ।
त्यस्तै क्यानडा छैटौँ, स्पेन सातौँ, इंग्ल्यान्ड आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १० औँ स्थानमा रहेको छ ।