काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले मुलुक र जनताको चाहना अनुसार अब छिट्टै सबै दलले मन्त्री हेरफेर गर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले अनुशासनहिनता बढ्न थालेको बताउँदै अर्थमन्त्रीको पनि धेरैतिरबाट आलोचना आइरहेकाले माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नाम लिस्ट दिएपछि हेरफेर हुने बताउनुभयो ।
जुन मन्त्रीका बारेमा बाहिर असन्तुष्टि बढेका छन्, जस्ले देशका लागि राम्रो काम गरिएको छैन भन्ने भएको छ उनीहरुलाई फिर्ता गरेर जस्ले देश र जनताका लागि राम्रो काम गर्छ त्यस्ता नयाँ अनुहारलाई भित्र्याउने प्रधानमन्त्रीको तयारी रहेको नेता बस्नेतको भनाइ छ ।
नेता बस्नेतले भन्नुभयो, ‘राम्रा काम गर्ने मन्त्रीहरु पनि छन्, केहि मन्त्रीले अनुशासनहिनताको पराकाष्ट नाघेको पनि देखियो त्यसलै यी मन्त्रीहरुलाई परिवर्तन गर्नका लागि सम्बन्धित पार्टीका नेताहरुलाई प्रधानमन्त्रीले भनिसक्नुभएको छ, अब चाँडै निर्णयमा पुग्छ ।’
पटक–पटक मन्त्रीमण्डल फेरबदल गर्नुभन्दा सबैदलसँग सोधेर र नाम लिस्ट आएपछि एकैपटक गर्ने सोचले नेकपा एस(माधव नेपाल)ले पठाएको नामलाई केहि समय पछि राखिएको नेता बस्नेतले प्रस्ट पार्नुभयो ।