काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी संघ र प्रदेशको निर्वाचन संविधानसम्मत ढंगले कहिले गर्ने भन्ने कुराको टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले निर्वाचन नितान्त कार्यनैतिक, तत्कालको अस्थायी विषय र २४ घण्टामा पनि अदलाबदली हुन सक्ने विषय भएकाले गठबन्धनले त्यहि बेलामा सिटको भागबण्डा तय हुने सम्भावना व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अहिले सिटको कुरा चलेको बुझिएको छैन । पहिलो कुरा निर्वाचन कै बारेमा कहिले र के भन्ने टुंगो हुनुपर्यो, त्यसको वैधानिक व्यवस्था गर्नपर्यो, सदनबाट त्यो कुरा अनुमोदन हुनुपर्यो । त्यसपछि को–को सँग सहकार्य गर्ने/नगर्ने कसरी सिट बाँडफाँट गर्ने भन्ने कुरा आउला ।’
नीतिगत विषयको टुंगो नभएसम्म सिट र तालमेल र एजेण्डाको तय हुने उहाँको भनाइ छ ।
आगामी निर्वाचनमा कम्युनिष्टहरु मिल्ने नमिल्ने भन्ने कुराको निर्वाचनमा उठाइने एजेण्डामा निर्भर हुने विषय भएको नेता गुरुङले बताउनुभयो ।