काठमाडौं । देशभर झण्डै २० प्रतिशतमात्रै रोपाइँ भएको छ । हिजोसम्ममा देशभर २० प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत वर्षहरूमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुने गरेकोमा यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको हो । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।
सुदूरपश्चिममा झण्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको छ । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको छ ।
मधेस प्रदेशमा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ ।
भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो । विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उहाँको भनाइ छ ।