काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकार सञ्चालनमा आफूहरुको नेतृत्व कमजोर भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहमहामन्त्री परियारले पार्टी सञ्चालनमा पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफूलाई भोट नहालेकालाई कुनै पनि भुमिकामा जिम्मेवारी नदिएर विभेदकारी नीति लिएको बताउनुभयो । यस्तै सहमहामन्त्री परियारले पार्टी सभापति जितीसकेपछि देउवा सबैको सभापति बन्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको काम नगर्ने, जनताको भावना अनुसार हिड्न नसक्ने, भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्ने, भ्रष्टचारीलाई खुलाआम बाहिर हिड्न सक्ने वातावरण बनाउने, किसानले मल पान नसकेका कुराहरु, विद्यार्थीले पुस्तक पाउन नसकेका कुराहरु, मूल्यवृद्धिका कुराहरु नसुन्ने र समाधान नगर्नेहो भने पटक–पटक सरकारमा जानुको महत्व नै छैन ।’
जनताको समस्या बोल्न र सुन्न नसक्ने कांग्रेस अब कांग्रेस हुन नसक्ने टिप्पणी गर्दै सहमहामन्त्री परियारले पार्टीमा यी कुराहरु छलफलको विषय बन्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बारम्बार सभापति देउवालाई भेट गरेर यी सबै कुराहरु जानकारी गराउदा पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । अस्ती बिहिबार र हिजो शुक्रबार शेखर कोइराला पक्षीय भेला बसेको थियो । भेलाले पार्टीका सभापति देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप समेत लगाएको छ ।
केन्द्रिय समिती बैठक समयमा बस्न नसक्दा दुई दिने भेला बाध्यताले राख्नुपरेको परियारको भनाइ छ । साथै उक्त भेलाकै कारण केन्द्रिय समितीको मिती तय भएको पनि उहाँले बताउनुभयो ।
सरकार र पार्टीको नेतृत्व गर्ने सभापतिलाई यी सबै कुराहरुको गम्भिररुपमा ध्यानाकर्षण गराउन पनि भेलाले यस्ता निश्कर्ष निकालेको सहमहामन्त्री परियारको भनाइ छ ।