काठमाडौं । माओवादी केन्द्रका नेता दिनानाथ शर्माले अर्थमन्त्री जनार्दन शर्माको विषयमा अहिले के गर्ने र के नगर्ने भन्नेबारे जानकारी नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले सार्वजनिक रुपमा उठेको यो विषयमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकारनी भएको र पूर्वस्थायी समित सदस्यको बैठकमा पनि यो विषयमा के गर्ने भन्ने प्रश्न उठेकाले अब पछिल्लो चरणमा के भएको छ भन्ने जानकारी नभएको बताउनुभयो ।
अहिले सबै केन्द्रिय समितीको बैठकमा भएकाले यो बारेमा छलफल गर्ने स्पष्ट पार्नुभयो । प्रश्न उठ्दैमा तत्कालै हटाइहाल्ने भन्ने नहुने बताउँदै नेता शर्माले सबै सत्य, तथ्य यथार्थ कुरा बुझेर छलफल हुने बताउनुभयो तर नेता शर्माले जनार्दनलाई हटाइहाल्नेबारे भने स्पष्ट पार्नुभएन । गठबन्धनको सरकार भएकाले सम्बन्धित उच्च स्तरमा कुराकानी छलफल भएर निश्कर्ष निस्कने नेता शर्माको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बजेट निर्माणमा आइरहेका विभिन्न आरोपबारे कसैलाई केहि थाहा छैन, यो बारेमा आधिकारीक रुपमा पुष्टि भयो भने आफ्नो ठाउँमा प्रक्रिया अगाडि बढ्ने त छदैछ । तर अहिले कुराहरु उठेका छन्, त्यसको छानविन हुनुपर्यो, कसैले अपराध गर्छ, कसैले मान्छे मार्छ भने पनि अदालतले फैसला गर्नेबेलासम्म त पर्खिनुपर्छ हैन र?।’