काठमाडौं । नेपाली कांग्रेसका नेता दीप कुमार उपाध्यायले कांग्रेसको समस्या कांग्रेस नै भएको बताउनु भएको छ । उहाँले कांग्रेस भित्र यो गुट र त्यो गुट भन्दाभन्दै दश प्रतिशत नेतृत्व पनि ईमान्दार नदेखिएको आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै उहाँले पार्टीभित्र कुनै पनि व्यक्ति लोकप्रिय, ईमान्दार भएपनि गुटमा छैन भने त्यसको भविष्य नभएको दावी गर्नुभयो । कांग्रेस भित्र पार्टीले जित्ने भन्दा पनि व्यक्ति र गुटले कसरी जित्ने भन्ने मान्यता हावी रहेको उपाध्यायको भनाई छ ।
‘कांग्रेसको आजको स्थिति दयनिय र भयावह छ । युवा नेता भनिएका गगन, विश्वप्रकाश र धनराजहरु पनि के कुरामा अल्झिएर बस्नुभएको छ ? दलको नेतृत्वप्रति जनतामा नैराश्यता छाएको छ । युवाहरुमा राजनितिको आकर्षण छैन,’ उपाध्यायको तर्क छ ।
उहाँले कांग्रेसलाइ एक बनाउन छाडेर जुनसुकै हालतमा पनि सत्ता चाहियो भन्ने नेतृत्वको मान्यता हावी रहेको बताउनुभयो।
एकअर्को प्रसंगमा उहाँले लोकतन्त्र भनेको नियममा चल्ने भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप अव प्रधानमन्त्री र प्रचण्डतिर सोझिएको भन्दै, कुनै पनि काममा नैतिकता नरहेको र जिम्मेवारी नलिने प्रवृत्तिले जरो गाडेको दावी गर्नुभयो ।
अव त केहि राम्रो हुन्छ कि ? भन्ने जनताको आशाप्रति नेतृत्वले पटक पटक कुठाराघात गरेकाले विस्तारै दलहरुप्रति लोकप्रियता घट्दै गएको उपाध्यायको दावी छ ।