काठमाडौं । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले नेताहरुमा केन्द्रिकृत सोच हाबी रहेको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खनालले भन्नुभयो, “सविधानतः हामी संघीयतामा गयौं तर नेतृत्वमा केन्द्रिकृत सोच कायमै छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा संघ र प्रदेशबीच विवाद छ । संघीयता बोझ भयो भन्ने हो भने संविधानबाटै खारेज गरे भइहाल्यो । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको जनकपुर भेलाले ७ बुँदे घोषणा त्यसकै निम्ति हो ।”प्रदेश सरकार सेनाबिनाको सेनापतिको जस्तो रहेको पनि उहाँको भनाई छ ।
खनालले भन्नुभयो, “संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश प्रहरीले गर्ने भनेको छ । तर अहिलेसम्म प्रदेश प्रहरी हाम्रो नियन्त्रणमा छैन । केन्द्रले अधिकार नै दिएन । वास्तवमा हामी सेनाबिनाको सेनापतिजस्तो भएका छौं ।”
उहाँले प्रमुख सचिव, सचिव, सीडीओ, प्रहरी प्रदेश सरकारमार्फत ल्याउन कानुनमा बाधक नभएको बताउनुभयो। प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डले भनेपछि मात्र राजीनामा दिने उहाँको जिकिर छ ।