काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलो पटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताएका छन् ।
अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाए पनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो । त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ । यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा कमिटी बनाएको छ । सोही कमिटीले समेत पूर्णता पाउने बताइएको छ ।
यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने ती नेताले बताए । प्रदेश र सङ्घको चुनावअघि नै पदाधिकारी टुङ्गो लगाउन अध्यक्ष प्रचण्डलाई दबाब भएपछि टुङ्ग्याउन लागि पर्नुभएको छ । अरू जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ ।