काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा कांग्रेस एक्लै जाने की गठबन्धनसँगै रहने भन्ने बारेमा अहिले नै निर्णय भइनसकेको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (सोमबार) बस्दै छ ।
भोलिको बैठकमा संघ र प्रदेशको निर्वाचनमा गठबन्धनकाबारे निर्णय हुने नेता पौडेलले बताउनुभयो । साथै बैठकमा स्थानीय चुनावको समीक्षा, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्नेलगायतका एजेन्डामा पनि छलफल हुने नेता पौडेलले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले स्थानीय निर्वाचनको गठबन्धनभन्दा अहिलेको गठबन्धन अफ्ठेरो स्थितीको रहेको बताउनुभयो ।
नेता पौडेलले भन्नुयो, ‘हामी (नेपाली कांग्रेस) एक्लै चुनावमा जाने सम्भावना पनि छ, गठबन्धन गरेर जाने सम्भावना पनि छ । स्थानीय निर्वाचनमा सबै ठाउँमा गठबन्धन गरेको होइन, जहाँ पार्टी कमजोर छ ४३ प्रतिशत स्थानमा मात्रै गठबन्धन गरेका हौँ । तर अबको निर्वाचनमा कुनै ठाउँमा तालमेल गर्ने कुनैमा नगर्ने त्यो तरिकाबाट गठबन्धन गर्ने अवस्था हुँदैन । गर्दा सबै ठाउँमा गर्नुपर्ने र नगर्दा कतै पनि नगर्ने स्थिती हुन सक्छ ।’
नेता पौडेलका अनुसार अहिलेको निर्वाचनमा पनि गठबन्धन कायम रहने सम्भावना रहेको छ । तर पनि पार्टीको पक्षमा हुने नहुने बहस गरेर मात्रै अन्तिम निर्णयमा पुग्ने उहाँको भनाइ छ ।