काठमाडौं । माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले चुनाव आफ्नै तयारीका साथ, आफ्नै भरमा लड्ने भएको बताउनुभएको छ ।
आफ्नै पहिचान आफ्नै विचार भएकाले निर्वाचन आफ्नै भर र बलमा लड्ने कुरा भएको बताउनुभएको छ ।
प्रतिगमनको खतरालाई टार्न र जुझ्नको लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको गठबन्धनको आरम्भ स्थानीय तहको निर्वाचनमा भएको र अब संघ र प्रदेशको निर्वाचनसम्म जाने नेता देवकोटाको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता देवकोटाले भन्नुभयो, ‘संविधान जोगाउनु छ, संविधानका उपलव्धिहरु जेगाउनु छ, यो प्रसंगमा जाने कुरा हो । यसकारण गठबन्धन अहिलेको आवश्यकता हो तर यो सँगसँगै पनि आफ्नो भरमा, आफ्नो बलबुतामा तयारी गर्ने कुरा पनि त्यति कै साँचो हो भन्ने मलाई लाग्छ छ ।’
एजेण्डा र नेतृत्वको हिसावले माओवादी पार्टी कमजोर नभएकाले आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्न सक्ने पनि नेता देवकोटाले बताउनुभयो । तर अहिलेको मिसन प्रतिगमनका विरुद्धको मिसन भएकाले प्रतिगमनलाई परास्त गर्न माओवादी एक्लैले नभई प्रतिगमनविरोधीलाई गोलबन्दक गरेर अगाडि बढ्ने हो भन्ने प्रसंगमा गठबन्धन बनेकाले गठबन्धनमा रहेका पार्टीसँग थुप्रै कुराहरु नमिले पनि आसन्न निर्वाचनसम्म रहेको देवकोटाको भनाइ छ ।