काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटर्वको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भन्नुभयो, ‘नेपाली कांग्रेससँग नेपालमै कुराकानी हुन सक्छ । माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्झौता गर्न दिल्ली जानु पर्दैन । प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको छ ।’
यस्तै गुरुङले बहुदलीय व्यवस्था स्वीकार गरिसकेपछि हिन्दुवादी वा गैरकम्युनिस्ट दलसँग सम्बन्ध र सम्पर्क हुनु स्वाभाविक भएको पनि टिप्पणी गर्नुभयो ।
उहाँले थप्नुभयो, ‘हामीले बहुदलीय व्यवस्था स्वीकार गरेका छौं । कम्युनिस्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध हुन्छ । तर गैर कम्युनिस्ट दलसँग पनि सम्पर्क र सम्बन्ध हुन सक्छ । बीजेपी वा हिन्दुवादीसँग सम्बन्धै हुन सक्दैन भन्ने छैन ।’ प्रचण्डको भारत भ्रमणले पार्टी र पार्टीबीचको सम्बन्ध स्थापित गर्न सफल भएको नेता गुरुङको दाबी छ ।
वाम एकताको पक्षमा चीनको सद्भाव र सुझाव रहेको पनि नेता गुरुङले स्वीकार गर्नुभयो ।