काठमाडौं । काठमाडौं महानगरपालिकाले आज तीनवटा दमकल ल्याएको छ। आगलागी नियन्त्रणका लागि महानगरपालिकाले उच्च प्रविधि जडित दमकल खरिद गरेको हो ।
महानगरले दमकल ल्याएको जानकारी मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ। सोहीअनुरूप पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरू महानगरमा आइपुगेका छन्। ‘दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’’
सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प भएको जनाउँदै उहाँले आगोको विषयमा कहिल्यै पनि हेलचेक्र्याइँ नगर्न सबैलाई अनुरोध पनि गर्नुभएको छ।
महानगरपालिकाको अघिल्लो नेतृत्वले दमकल खरिदको निर्णय गरेको थियो । महानगरमा आइपुगेको उक्त दमकल मेयर बालेन्द्र साहले बुझ्नुभएको छ । मेयर साहले दमकल खरिदको निर्णय गर्ने पूर्व मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद दिनुभएको छ।