काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आसन्न निर्वाचनमा एमालेले कसैसँग पनि गठबन्धन नगर्ने बताउनुभएको छ ।
अहिलेको पाँचदलीय गठबन्धनसँगै बलियो भएर प्रतिष्पर्धा गर्ने र जित्ने योजनामा एमाले रहेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपमहासचिव रिमालले भन्नुभयो,‘अहिले यतिखेर एउटा गठबन्धन छ, जो एमाले विरोधी गठबन्धन हो । स्थानीय तह चुनावमा पनि आफूलाई बलियो बनाएर प्रस्तुत गरेको हो । अबको आमनिर्वाचनमा पनि त्यसरी नै जाने निर्णयमा रहेको छ । हामी त्यहि गठबन्धनसँग बलियो भएर प्रतिष्पर्धा गर्ने र चुनाव लडेर जित्ने योजनामा एमाले छ, यसकारण एमालेले अहिले कुनै गठबन्धन बनाउने तयारीमा छैन । ’
०७४ सालमा जुन स्थिरता ल्याउन गठबन्धन गरिएको थियो त्यो नै अस्थिरताको कारण बनेपछि गठबन्धनको बाटो गलत रहेछ भन्ने निश्कर्षमा पुगेकाले अब आ–आफ्नो विचारको आधारमा चुनावमा जानुपर्छ भन्ने भएर एक्लै लड्ने उपमहासचिव रिमालकोे भनाइ छ ।
अहिलेको निर्वाचन प्रणालीको आधारमा यदि कुनै कारणले पार्टीहरुले एकल बहुमत आएन भने त्यतिखेर भने मन मिल्ने साथी खोज्ने भन्ने हिसावले आफ्नो तयारीमा लागेको उहाँले बताउनुभयो ।