काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले दक्षिणपन्थी गठबन्धन गरेर मुलुकलाई तहसनहस बनाउने केन्द्रसँग एक हुन नसक्ने बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एस र बामदेव गौतम नेतृत्वको दललगायत एक भएर नेकपा समाजवादी केन्द्र बनाएर अगाडि बढ्ने भन्ने कुराको प्रसंगमा पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीले राष्ट्रविरोधी गतिविधीको समर्थन नहुने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले राष्ट्र र मुलुकका लागि नभई विचार, मूल्य र मान्यता छोडेर असंवैधानिक गठबन्धन गर्ने काममा एमाले नलाग्ने स्पष्ट पार्नुभयो ।
एमाले यतिबेला संगठनभित्रका समस्याहरु समाधान गर्ने, संगठनलाई सुदृढ र बलियो बनाउने पक्षमा लागिरहेको नेता अधिकारीले बताउनुभयो ।
मुलरुपमा पार्टीको एकल बहुमत ल्याउने तयारीका साथ अगाडि बढेको पनि नेता अधिकारीको भनाइ छ ।