काठमाडौं । गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् ।
निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।
संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।