काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले एमालेसँग एक्लै लड्न सक्दैनौँ भनेर पाँच दलीय गठबन्धन लागिपरेको आरोप लगाउनुभएको छ । गठबन्धनले एमालेसँग एक्लै लड्न डराइरहेको समेत उहाँको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले एमाले आवश्यक पर्दा एक्लै पनि प्रतिस्पर्धा गर्न तयार रहेको दाबी गर्दै नेता पण्डितले कोही राजनीतिक पार्टीले चाहेमा साथ र सहयोग लिएर अगाडि बढन पनि तयार रहेको बताउनुभयो ।
गठबन्धनका दलहरु नेपाली कांग्रेसमा प्रवेश गरे पनि एमाले नडराउने नेता पण्डितको भनाइ छ । गठबन्धनका दलहरु अझै पनि चुनाव भाँड्ने कोसिस गरिरहेको आरोप लगाउँदै नेता पण्डितले एमालेको दबाबका कारण चुनाव घोषणा गर्न सरकार बाध्य भएको जिकीर गर्नुभयो ।
यस्तै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्ति देशका निम्ति समस्या भएको पनि आरोप लगाउनुभएको छ । मुलुकमा एमाले र कांग्रेस बाहेकका पार्टी नचाहिने पनि नेता पण्डितको दाबी छ ।