काठमाडौं । जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले सिट बाँडफाँडको आधारहरु खोज्नेक्रम चलिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले गठन गरेको कार्यदलका सदस्य समेत रहनुभएका चेम्जोङले पहिलो र दोस्रो बैठकमा सौहार्दपूर्ण ढंगले कुनलाई मुल आधार मान्ने र कुनलाई सहायक आधार मान्ने लगायतका विषयमा छलफल चलिरहेको बताउनुभयो । कार्यदलले तोकिएको समयमै भागबण्डा टुङग्याउने नेता चेमजोङले स्पष्ट पार्नुभयो ।
उक्त कार्यदलको बैठक भोलि पनि बस्दै छ । भोलिको बैठकमा सिट बाँडफाँडका आधारहरु तय गरिने नेता चेमजोङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिट बाँडफाँडको आधार निश्चित मापदण्डमा हुन्छ त्यसलाई हामीले खोजिरहेका छौँ, ०७४ सालको निर्वाचनलाई एउटा आधार मान्न सकिन्छ, स्थानीय तहमा प्राप्त लोकप्रियता मतलाई आधार मान्न सकिन्छ । त्यसैले हामी कुन आधारमा सिट बाँडफाँड गर्ने भनेर यसमा छलफलमा छौँ । १६५ सिट मै छलफल चलाइरहेका छौँ भोलिबाट रफ्तारमा बढ्छ, आधारहरु तय हुन्छन् । ’
आगामी मङ्सिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको दोस्रो बैठक सम्पन्न भइसकेको छ ।
चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कांग्रेस नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो भने २६ गते दोस्रो बैठक बसेको थियो ।
कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
यस्तै लोसपा, बाबुराम भट्टराईको दललगायत पनि गठबन्धनमा जाने भन्ने कुरा चलिरहेको प्रसंगमा नेता चेमजोङले लोसपा र अन्य दलको कुरा भित्र नउठेको बताउनुभयो ।
शिर्ष नेताहरुको कुनै निर्देशन नआएको र छलफल पनि नभएकाले अहिलेसम्मको अवस्थामा १६५ सिट पाँचदलीय गठबन्धनभित्र मात्रै बाँडफाँड गरिने उहाँले स्पष्ट पार्नुभयो ।