Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदमा सांसद : शून्य समयका धारणा

संसदमा सांसद : शून्य समयका धारणा

  • मंगलवार, श्रावण ३१ २०७९

  • 585
    SHARES

  • संसदमा सांसद : शून्य समयका धारणा

    काठमाडौं । सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्नुभयो ।

    उहाँले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सिर्जना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरूले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाउनुभयो। उहाँले ठूला उद्योगी र व्यवसायीहरूले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरूले बैकबाट ऋण नै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले काठमाडौँमा फोहोरको समस्या गत वर्षहरूमा भन्दा पनि बढी भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले बाढीपहिरो र डुबान पीडितहरूलाई राहत दिने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनुभयो।

    माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सुचारु गराउन सरकारसँग माग गर्नुभयो । उहाँले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाइ हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

    सांसद बस्नेतले दशक बितिसक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाइ हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।


    मंगलवार, श्रावण ३१ २०७९०२:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij