एजेन्सी । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ’ग्रीन कार्ड’ का लागि आवेदन दिएका छन् । देशमा गएको जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भागेका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भरेको जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिएका विरातुङ्गाले थाइल्यान्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए ।
तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेका डेली मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएको महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ ।
उनको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।
देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नुपरेको हो ।
उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।