काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अहिलेको अवस्था र प्रतिष्पर्धी पार्टी हेर्दा चुनावी तालमेल हुनु राम्रो पक्ष भएको बताउनुभएको छ ।
किन र केका लागि भनेर निश्कर्ष निकालेर गरियो भने कहिलेकाहि तालमेल राम्रो हुने नेता भण्डारीको भनाइ छ । एकआपसमा प्रतिष्पर्धात्मक रुपमा लामो समय हिडेका प्रजातन्त्रवादी र कम्युनिष्टपार्टीका नेताहरुलाई एउटै धारमा मिलाउन सकिन्छ भन्ने सोच नै गलत रहेको बताउँदै नेता भण्डारीले धेरै समस्या र अफ्ठेरो अवस्थाकाबीच पनि एक समूहमा मिलाउन सक्नुलाई सकारात्मक रुपमा हेर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले विगतको स्थानीय तहको निर्वाचनको अवस्था हेरेर भागबण्डा गर्नुपर्ने बताउनुभयो । जित्न नसक्ने स्थानमा दाबी गर्दा भोट अन्तै जाने सम्भावना हुने भएकाले आफूले जित्न सक्ने ठाउँमा उम्मेदवारी उठाउने र त्यहि आधारमा सिटको माग गर्न आवश्यक रहेको पनि नेता भण्डारीको भनाइ छ ।
गत निर्वाचनको समिक्षा गर्दै अहिलेको निर्वाचनलाई हेर्दा सहि निश्कर्ष निकाल्न सकिने बताउँदै नेता भण्डारीले सभापति शेरबहादुर देउवालाई पार्टीभीत्र र बाहिर मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । विचार र हेराईका दृष्टिकोणले केहि फरक मत भए पनि अहिले निर्वाचनको समयमा काम गरिरहेकाले नकारात्मक हिसावले हेर्न नहुने स्पष्ट पार्नुभयो ।