काठमाडौं । सुडानमा अविरल वर्षा र बाढीबाट ८३ जनाको ज्यान गएको छ ।
बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरूका १८ हजार घर बगाएको छ । त्यसैगरी बाढीबाट २५ हजार घरमा क्षति पुगेको बताइएको छ । केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजार जना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्र सारिएको छ ।
मौसमसम्बन्धी अधिकारीहरूले सन् १९४६ पछि पहिलोपटक सुडानका नदीहरूमा पानीको सतह धेरै बढेको जनाएका छन् । बाढीका कारण कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ । अत्याधिक वर्षापछि आएको बाढीका कारण संकट उत्पन्न भएको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ ।
नेशनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाइल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ ।
बाढीको प्रभाव बढी भएका यी राज्यहरूमा सरकारले आपतकाल घोषणा गरेको हो । प्रभावित क्षेत्रमा उद्धारकर्ताहरू परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढी पहिरो पीडितहरूलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरूलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ ।