काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चाँडै सिट बाँडफाँटको टुङगो लाग्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता महतले हप्ता दश दिनभित्रैमा कुन दलले कति निर्वाचन क्षेत्र पाउने भन्ने कुराको टुङगो लाग्ने बताउनुभयो ।
नेपाली कांग्रेसले ६० प्रतिशत सिट माग भन्ने बाहिर आइरहेको कुरा सत्य नभएको र अहिले नै कस्लाई कति भनेर भन्न नसकिने स्पष्ट पार्नुभयो । उम्मेदवारी दिनु नभएर नजिता आफ्नो पक्षमा ल्याउनु महत्वपूर्ण कुरा भएकाले लोकप्रियता र जित्ने आधारहरु हेरे निर्वाचन क्षेत्र दिइने बताउनुभयो ।
जित्ने आधार र बिगत नहेरी उम्मेदवार उठाउँदा एमालेलाई फाइदा हुने भएकाले सहि र योग्य व्यक्ति हेरी सिट दिइने प्रवक्ता महतको भनाइ छ
यस्तै सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्ने उहाँले बताउनुभयो । हिजो बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई आज मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो ।
सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि हिजो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने गरेर बोलाइएको प्रवक्ता महतले बताउनुभयो । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।