Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या बढाउनुपर्छ : पूर्वसभामुख घर्ती

दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या बढाउनुपर्छ : पूर्वसभामुख घर्ती

  • शनिवार, भाद्र ११ २०७९

  • 505
    SHARES

  • दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या बढाउनुपर्छ : पूर्वसभामुख घर्ती

    काठमाडौं । माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवार संख्या बढाउनु पर्ने बताउनुभएको छ । प्रत्यक्षतर्फ महिला नेताहरूलाई उम्मेदवार बनाउनका लागि सबै राजनीतिक दलहरूले टिकट वितरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    माओवादीको अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाडौंमा शनिबार(आज) आयोजना गरेको कार्यक्रममा पूर्वसभामुख घर्तीले हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेता रहेकाले टिकट वितरणमा राजनीतिक नेतृत्वले ध्यान पुर्‍याउनु पर्ने बताउनुभयो ।

    पार्टीका शीर्ष नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले रहेको र स्वयं महिलाहरू समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको भन्दै उहाँले त्यस्तो धारणा तोड्नुपर्ने बताउनुभयो । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ,’ उहाँले भन्नुभयो, ’महिलाहरू समानुपातिकमा मात्र लालायित हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरूमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

    पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने महिला आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उहाँको टिप्पणी थियो । उहाँले आफूभित्रको पृत्तसत्तावाद जबरजस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिनुभयो । महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उहाँले बताउनुभयो । महिलाहरूले अवसर पाएमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको उहाँको भनाइ थियो । 

    आफूहरूको आन्दोलनले नै आजका छोरीहरूलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गर्नुभयो । महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताउनुभयो । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उहाँको भनाइ थियो ।

     


    शनिवार, भाद्र ११ २०७९०२:४७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij