काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह आचार्य र जलस्रोत तथा ऊर्जा मन्त्रीमा रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारले सोमबार(आज) पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरूलाई पठाउने निर्णय गरेपछि उनीहरूलाई दलको सिफारिसअनुसार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्ति गर्नुभएको थियो ।
माओवादी केन्द्रको संसदीय दलको निर्णयका आधारमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएपछि आचार्य र कामीलाई मन्त्रीको बाटो खुलेको हो ।
माओवादी केन्द्रको साउन २६ गतेको बैठकले विष्ट र सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । पार्टी र दलको निर्देशन अनुसार विष्ट र सिंहले राजीनामा दिनुभएको थियो । विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त हुनुभएको थियो भने सिंह माघ २३ गते मन्त्री नियुक्त हुनुभएको थियो ।
रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाहको शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने ११ जना माओवादी प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्न सफल भएका छन् ।