काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समुन्द्र भएकाले सबै पार्टीका कार्यकर्ता एकदिन यहि पार्टीमा मिसिन आउने दाबी गर्नुभएको छ ।
शुक्रबार विराटनगरमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रदेश स्तरीय पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा सबै जनता एकीकृत हुने दाबी गर्नुभएको हो ।
ओलीले जसरी समुन्द्रमा सबै खोलानाला एकीकृत हुन पुग्छन्, त्यसैगरी सबै पार्टीका कार्यकर्ता नेकपा एमालेमै एकीकृत हुन आइपुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले भनेको ‘वे अफ वंगाल’हो। जसरी छरिएका खोलानाला समुन्द्रमा पुग्छन्। त्यसैगरी अन्य पार्टीमा छरिएर रहेका सबै जनता अन्तिममा एमालेमै एकीकृत हुन आइपुग्छन्।’
ओलीले हरेक घरमा एमालेका सदस्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले काम गर्ने, देशको विकास गर्ने पार्टी एमाले मात्रै भएकाले नयाँ मतदाताहरू, युवा तथा विद्यार्थीहरूले एमालेबाहेक अन्य पार्टीलाई भोट हालेर गल्ती नगर्ने विश्वास व्यक्त गर्नुभयो।
ओलीले भन्नुभयो, ‘तपाईहरूको पहिलो भोट अपवित्र गठबन्धनलाई हैन, खान पल्केकाहरूलाई हैन विकास र समृद्धिको स्पष्ट एजेण्डा बोकेको एमालेलाई हुनुपर्छ।’ ओलीले देशै भर एमालेको माहोल बनिरहेको र दैनिक हजारौं कार्यकर्ता विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरिरहेका कारण मंसिर ४ गते जनताको अदालतले निर्णय गर्ने र त्यो निर्णय एमालेको पक्षमा हुने दाबी गर्नुभयो ।