काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ ।
उहाँले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनुभयो।
उहाँले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको उल्लेख गर्नुभयो। मेयर शाहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उमंग, खुशीसँग जोडिएको बताउनुभयो। मेयर शाहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताउनुभयो।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ । उहाँले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू भोलीदेखि काठमाडौं आउन थाल्ने जानकारी दिनुभयो ।
उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्त्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताउनुभएको छ।
उहाँले इन्द्रजात्रालाई सभ्य, भव्य, राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चारमाध्यमको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो ।
इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन। तर, यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ।
जात्रा आवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौं उपत्यकामा बुधबार (आज) देखि इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ।