काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ ।
ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११ः५५ बजे पुगेका थिए । उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताएका छन् ।
‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ, होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन्,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले त्यो दिन उनीहरु कसैको पनि परिचय पत्र त्यहाँ राखिएको रहेनछ ।’
लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको पनि पाइएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए ।
राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ ।
लामिछाने अहिले क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन छन् ।