काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि नेपाली कांग्रेसटका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन शेखर कोइराला पक्षका नेताहरूले आज खबरदारी सभा गरेका छन् । कांग्रेसभित्र संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै कोइराला पक्षका नेताले आज काठमाडौंमा खबरदारी गरेका हुन् ।
खबरदारी सभामा सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने भन्दै नेताहरूले चुनौती दिएका छन् । अब देउवाबाट न्याय सम्भव नदेखिएकाले ७७ वटै जिल्लामा उम्मेदवार उठाएर जाने वा चुनाव बहिस्कार गर्ने विकल्पमा छलफल सुरु भएको भेलाका अध्यक्ष जगदीश नरसिंह केसीले बताउनुभयो । उहाँले ४० प्रतिशतको नजिर सभापति देउवाले नै बसालेकाले सम्मानजनक रुपमा टिकट नपाए आफूहरूले टिकट नलिई बाहिरबाटै समर्थन गर्ने दाबी गर्नुभयो।
नेता गुरुराज घिमिरेले पहिलो चरणमा विनम्रतापूर्वक आग्रह गरिएको र त्यसले नपुगेर आक्रोशको रूपमा खबरदारी सभा गरिएको भन्दै अब विद्रोह हुने बताउनुभयो । घिमिरेले गठबन्धनका अन्य दललाई पनि टाउको जोड्दैमा चुनाव नजितिने भन्दै होस् पुर्याउन चेतावनी दिनुभयो ।
आजको खबरदारी सभाका सञ्चालक कांग्रेस युवा नेता डिल्लीराम सुवेदीले दोस्रो चरणको आन्दोलनका बारेमा छलफल भइरहेको र संसदीय बोर्डको बैठक जहाँ बस्छ त्यहाँ हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्नेबारे नेताहरूबीच छलफल चलिरहेको बताउनुभयो ।
शेखर पक्षले १६ गते अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने सर्त सभापति शेरबहादुर देउवा समक्ष राखेको छ ।
नेता भुपेन्द्रजंग शाहीले केन्द्रीय समितिमा १ सय ६७ जनाको बहुमतले कहीँ नहुने भन्दै केन्द्रीय सदस्यको भोटको अधिकार र जनताको भोटको अधिकार बराबर भएको बताउनुभयो ।
खबरदारी सभामा बोल्दै युवा नेता मनोजमणि आचार्यले पार्टीभित्र न्याय हराएको भन्दै ४० प्रतिशत जसरी पनि चाहिने जिकिर गर्नुभयो।
नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज तामझामका साथ ‘खबरदारी’सभा गर्ने जनाएको थियो ।
तर, भेलामा शेखर समूहकै शीर्ष नेता आज उपस्थित भएका थिएनन् । समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी लगायतका समूहका शीर्ष नेता नै खबरदारी सभामा आउनु भएको थिएन ।
कांग्रेसभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूलाई समेत पर्ने भएको छ । कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढेको अवस्थामा अन्य दलले टिकट पाएको ठाउँमा कांग्रेस कार्यकर्ता चुनावी अभियानमा नखटिने सम्भावना छ । कांग्रेसको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब–किताब गरेर उम्मेदवार भएका गठबन्धनमा रहेका अरू दलहरूलाई त्यसले प्रत्यक्ष असर गर्नेछ ।
गठबन्धनमा रहेका दलहरूले पाएको सिटमा जित हासिल गर्नको लागि पनि कांग्रेसभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती गठबन्धनमा थपिएको छ ।