Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रत्यक्षतर्फका उम्मेदवारको योग्यता

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रत्यक्षतर्फका उम्मेदवारको योग्यता

  • बिहिवार, आश्विन २० २०७९

  • 1.2K
    SHARES

  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रत्यक्षतर्फका उम्मेदवारको योग्यता
    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चाहिने योग्यताको सूची सार्वजनिक गरेको छ । आयोगले कुनै उम्मेदवारले के कुरा पूरा नगरे अयोग्य हुने भन्नेबारे पनि सँगसँगै सूची जारी गरेको हो । आयोगले विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्ने योग्यता नराख्ने भनेको छ । 
     
    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने क्रममा उम्मेदवार योग्य र अयोग्य हुने आधार सार्वजनिक गर्नुभएको छ । आयोगले बिहीबार(आज) जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुरुमा नेपालको नागरिक हुनुपर्ने योग्यता राखिएको छ । त्यसपछि ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको’ हुनुपर्ने उल्लेख छ ।
     
    उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने कुनै पनि संघीय कानुनले अयोग्य नभएको हुनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उम्मेदवार बन्नका लागि कुनै लाभको पद बहाल नरहेको हुनुपर्ने पनि आयोगले भनेको छ ।

    यस्ता छन् उम्मेवारका लागि तोकिएका योग्यता

    (क)     नेपालको नागरिक, 
    (ख)     प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, 
    (ग)    पच्चीस वर्ष उमेर पूरा भएको, 
        (घ)    कुनै सङ्घीय कानूनले अयोग्य नभएको  र 
    (ङ)     कुनै लाभको पदमा बहाल नरहेको । 
        (यस प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्छ।)


    त्यस्तै आयोगले देहायका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने बताएको छ।
        (क)     नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेशसरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
    (ख)     निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, 
    (ग)     भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, 
    (घ)     सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, 
    (ङ)     जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
    (च)     यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, 

    (छ)     प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेका
     (ज)     कैदमा बसेकोमा कैद बसेको अवधिभर, 
     (झ)     नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
    (ञ)     मानसिक सन्तुलन ठीक नभएको। 

    यस्तै, मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजूरी दिन सकिने व्यवस्था पनि गरिएको आयोगले आफ्नो विज्ञप्तिमा जनाएको छ।

    यसरी उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुने पनि आयोगले स्पष्ट बारेको छ।

     
    आयोगले मनोनयन बदर गरिने हुनाले योग्यता र अयोग्यताका सम्बन्धमा राजनीतिक दल र उम्मेदवार आफैले यकिन गरी मनोनयनपत्र दर्ता गराउनु पनि आग्रह गरेको छ।


    बिहिवार, आश्विन २० २०७९०७:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij