Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय हुनुपर्छ : प्रधानमन्त्री देउवा

  • बिहिवार, कार्तिक ३ २०७९

  • 446
    SHARES

  • प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय हुनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अति आवश्यक रहेको बताउनुभएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) यहाँ आयोजित कार्यक्रममा उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवम् संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रूपमा रहेको उल्लेख गर्दै प्रकृति संरक्षण तथा जैविक विविधताको माध्यमबाट नेपालको पर्यटन विकास र समृद्धिको महत्त्वपूर्ण आधार हुन पुगेको बताउनुभयो ।

    कोषका संरक्षकसमेत रहनुभएका उहाँले नेपालले बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाउँदै पछिल्ला वर्षमा नेपालबाट अन्तर्राष्ट्रिय समुदायसामु सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो । “सन् २०१० मा बाघको सङ्ख्या एक सय २१ लाई दोब्बर बनाएर दुई सय ५० पुर्‍याउने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता थियो ।

    त्यसमा नेपाललाई अपार सफलता मिलेको छ । अब, हामीले बाघको सङ्ख्या त बढायौँ पछिल्ला दिनमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको अवस्थामा यस चुनौतीका बीचमा हामीले असीमित सम्भावना खोज्न जरुरी छ ”, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री देउवाले मुलुकको दिगो विकाससँग प्रकृति र जैविक विविधता संरक्षण प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै योसँग जोडिएर संरक्षणसम्बन्धी ठोस तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ अभ्यास अपनाउन सफल भएको बताउँदै संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडेल विश्वप्रसिद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

    कोषले संरक्षण क्षेत्र व्यवस्थापनमा जनसहभागितामा आधारित संरक्षण र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पुर्‍याएको योगदान विश्वमै ख्याति रहेको बताउँदै उहाँले नेपालको कुल भूभागमध्ये संरक्षित क्षेत्रले ओगटेको २३ दशमलव ३९ प्रतिशत भूभागलाई वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    कोषले आफ्नो गौरवशाली इतिहासमा सदर चिडियाखानाको व्यवस्थापनमा पुर्‍याएको योगदान स्मरणीय रहेको बताउँदै उहाँले यो चिडियाखानालाई संरक्षण शिक्षा केन्द्रका रूपमा राख्दै भक्तपुरको सूर्यविनायकलाई अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानमा विकास गर्नेगरी कार्य भइरहेकामा यसलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

    कोषले जलवायु परिवर्तनको क्षेत्रमा जलवायु वित्त संयन्त्रमा प्रवेश गरी यस क्षेत्रको हरित जलवायु कोषको रूपमा मान्यता प्राप्त गरिसकेको सन्दर्भमा सम्बन्धनप्राप्त निकायका रूपमा मुलुकको जलवायु अनुकूलन र न्यूनीकरणका लागि परियोजना भित्र्याउन सहज वातावरण निर्माण भएको उहाँको भनाइ छ ।

    कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रकृति संरक्षण, वन्यजन्तु एवम् जैविक विविधताको प्रवर्धनमा कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्तर निकायबीच समन्वय गरेर प्रकृति संरक्षणको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पूर्वमन्त्री दीपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका सचिव डा। पेमनारायण कँडेल, कोषका अध्यक्ष डा। कृष्णप्रसाद आचार्य र सदस्यसचिव शरद अधिकारीलगायतले संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि विश्व समुदायका लागि उदाहरणीय रहेको भन्दै आगामी दिनमा प्रकृति तथा जैविक विविधता सम्पदाको संरक्षणलाई आधुनिक ढङ्गले अघि बढाइनुपर्ने बताउनुभयो ।

    प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३९ मा राष्ट्रिय प्रकृति कोष स्थापना गरिएको थियो । अन्नपूर्णलगायत तीन संरक्षित क्षेत्रको व्यवस्थापन कोषबाट हुँदै आएको छ । ‘संरक्षणका चार दशकः गौरवमय इतिहास र अबको बाटो’ भन्ने नाराका साथ कोषले वार्षिकोत्सव मनाएको हो ।

     


    बिहिवार, कार्तिक ३ २०७९०२:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij