काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ । आज धनतेरस नेपालीहरूले धातुका नयाँ भाँडाकुँडा किनमेल गरेर लक्ष्मी आगमनको लागि प्रार्थना गरिरहेका छन् ।
धनतेरसले नेपालमा पछिल्लो समय ठुलो महत्त्व बोकेको छ । यो पर्वलाई मनाउने नेपालीहरूको संख्यामा पनि वृद्धि भएसँगै यसको महत्त्व बढ्दै गएको हो । यद्यपि, धनतेरस नेपालमा धेरैपछि आगमन भएको मानिन्छ । नेपालीहरूले सबैभन्दा लक्ष्मीपूजालाई विशेष रुपमा मनाउने गर्दछन् । संस्कृतिविद् प्रेम खत्रीका अनुसार नेपालीहरूका लागि महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो । पछिल्लो समय सिको गदै धनतेरस पनि मनाउन थालिएको हो ।
मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।
मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरि जयन्ती पनि आजै परेको छ । संस्कृतिविद् वीणा पौडेलका अनुसार धनतेरस नयाँ धातुका सामान जोड्ने पर्व र विशेषगरी लक्ष्मीकै आगमनका लागि सजाइने सामग्री किन्ने पर्व हो ।
सन्ध्याकलामा दीप प्रज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । मिथिलामा आज किनिएको सामान शुभ फल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ । पर्व आफैमा सकारात्मक ऊर्जा बोकेर आउने गर्दछन् तर यसलाई देखासिकीका रुपमा लिनु गलत हुन्छ, आफू सक्ने जसरी मात्रै मनाउनुपर्छ ।